१० मंसिर २०८१, सोमबार
एजेन्सीः फिलिपिन्सका पूर्व राष्ट्रपति रामोन म्यागसेसेको नाममा पुरस्कार स्थापना गरिएको एसियाको नोबल भनेर चिनिने रामोन म्यागसेसे पुरस्कार भारतीय पत्रकार रविश कुमारले पाएका छन् ।
आवाजविहीनहरुलाई आवाज दिनका लागि पत्रकारितालाई माध्यम बनाएको भन्दै रविशलाई यस वर्षको म्यागसेसे अवार्डबाट पुरस्कृत गरिएको पुरस्कार छनौट समितिले जनाएको छ ।
भारतीय टेलिभिजन च्यानल एनडिटिभिका प्रबन्ध सम्पादक कुमारले राजनीतिक र ग्रामीण मुद्दाहरुलाई प्रखर रुपमा उठाउँदै आएका छन्।
यस वर्ष म्यागसेसेबाट रविशसँगै म्यानमारका पत्रकार को सी विन, थाइल्याण्डकी अधिकारकर्मी अग्खंना निलापाइजित, फिलिपिन्सका संगीतकार रेमण्ड पुजान्ते कायाब्याब र दक्षिण कोरियाका अधिकारकर्मी किम जोगं की पनि पुरस्कृत भएका छन्।
म्यानमारका चर्चित पत्रकार तथा अलनाइन न्यूज पोर्टल म्यानमार वानका सम्पादक विनलाई पनि आमसञ्चारमाध्यमको सत्यतथ्य पस्कने क्षमता र शक्ति विकास गर्न योगदान गरे वापत उनलाई पुरस्कृत गरिएको जनाइएको छ।
उक्त पुरस्कार आगामी ९ सेप्टेम्बरमा फिलिपिन्सको राजधानीमा मनिलामा एक कार्यक्रमका वितरण गरिने बताइएको छ।