स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री उडे सिंगापुर

होमल्याण्ड खबर

२०७६ श्रावण १९ गते, आईतवार ०६:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर गएका छन् ।

प्रधानमन्त्री ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न सिल्क एयरको उडानबाट शनिबार राति १० बजे सिल्क एयरबाट सिंगापुर गएका हुन् ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि सिंगापुर गएका उनी करिब एक सातापछि स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाहसमेत गएका छन् ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकले उनलाई सिंगापुर जान सुझाव दिएका थिए ।

ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।