भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

होमल्याण्ड खबर

२०७६ श्रावण २२ गते, बुधबार ०७:०० मा प्रकाशित

भारतीय पूर्वविदेशमन्त्री एवं भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । हृदयघातका कारण स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो ।

स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए । उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन् ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन् ।