पर्यटन मन्त्री भट्टराईकाे पहिलाे एक्सन- नेपाल एयरलाइन्स सुधारका लागि कार्यदल गठन

होमल्याण्ड खबर

२०७६ श्रावण २२ गते, बुधबार १५:३२ मा प्रकाशित

पद ग्रहण लगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री याेगेश योगेश भट्टराई एक्सनमा उत्रिएका छन् ।  नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कार्यदल गठन गरेको हाे। 

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न कार्यदल गठन गरिएको छ।

बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन्। कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई छन्। पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन्।

कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ। अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ।

कार्यदलाई तोकिएका जिम्मेवारीमा नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने छन्।

यस्तै, सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न तथानिगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने भनिएको छ।