भक्तपुरको गठ्ठाघरमा एउटा बसले अर्काे तीन वटा बसलाई ठक्कर दियोः १६ घाइते

होमल्याण्ड खबर

२०७६ श्रावण २६ गते, आईतवार १२:५१ मा प्रकाशित

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।

आज बिहान सवा ६ बजे काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफैं अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नंं. को ३ वटा बसलाई ठक्कर दिँदा बा ४ ख ५७९४ नं. को बसमा यात्रारत १६ जना यात्रु घाइते भएका हुन् ।

घाइतेहरु मध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगी उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ ।

घटनामा संलग्न ४ वटै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दिपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।