कांग्रेस पूर्वअध्यक्ष राहुल गान्धी जम्मु काश्मीर जान तयार

होमल्याण्ड खबर

२०७६ श्रावण २९ गते, बुधबार १५:४३ मा प्रकाशित

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले बिना कुनै शर्त जम्मु काश्मीरको भ्रमण गर्ने बताएका छन् । जम्मु काश्मीरका गभर्नर सत्यपाल मलिकले कांग्रेस नेता गान्धीलाई सोमबार राज्यमा आएर यथास्थिति बुझेरमात्र बोल्न आग्रह गरेका थिए । 
मलिकले गान्धीलाई जम्मु काश्मीर आउन विमान पठाउने समेत बताएका थिए । तर, गान्धीले मलिकको उक्त प्रस्ताव अस्वीकार गरेका थिए । उनले विमानको प्रस्ताव अस्वीकार गरे पनि आफूलाई त्यहाँ ‘यात्रा गर्ने र जनतासँग भेटघाट गर्ने स्वतन्त्रता’ दिन आग्रह गरेका थिए । 

मंगलबार फेरि मलिकले गान्धीले कांग्रेस डेलिगेशनको नेतृत्व गर्दै जम्मु काश्मीरमा आएर अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका थिए । मलिकले आफूले यति धेरै शर्तहरुसहित जम्मु काश्मीर आउन निम्तो नदिएको उल्लेख गर्दै ट्विटमा भनेका छन्, “राहुल गान्धीले यस विषयमा विपक्षी दलका नेताहरुसहित आएर राजनीति गर्न खोज्दैछन् र यहाँका जनताका लागि समस्या उत्पन्न गराउने र अस्थिरता निम्त्याउन लागिरहेका छन् ।”

बुधबार फेरि गान्धीले बिना शर्त आफू काश्मीर आउन तयार रहेको बताएका छन् । उनले भनेका ट्विटमार्फत छन्, ” श्री मलिकजी, मैले तपाईंले मेरो ट्विटमा गर्नुभएका निम्छरा रिप्लाईहरु हेरे । मैले जम्मु काश्मीर यात्रा गर्ने र मानिसहरुसँग भेटघाट गर्ने तपाईंको निम्तो स्वीकार गरेको छु, बिना कुनै शर्त । म कहिले आउने ?”

यसअघि शनिबार कांग्रेसका सांसदहरुले जम्मु काश्मीरमा हिंसा बढेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए । तर, राज्य प्रमुख मलिकले भने कांग्रेस सांसदको उक्त अभिव्यक्तिमा आपत्ति जनाउँदै कांग्रेसका पूर्वअध्यक्षले सीमा क्षेत्रबाट आएका गलत समाचारका आधारमा अभिव्यक्ति दिएको आरोप लगाएका थिए ।