भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग आजै भेटवार्ता

होमल्याण्ड खबर

२०७६ भाद्र ४ गते, बुधबार १३:४० मा प्रकाशित


भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र संचिव शंकर वैरागी तथा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका छन् । नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । भारतको परराष्ट्र मन्त्री बनेपछि उनी पहिलो पटक नेपाल आएका हुन् ।
२ दिन नेपाल बस्ने जयशकरले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल(भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् । विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँगको भेटका लागि भोलि (बिहीबार) बिहान साढे १० बजेको समय तय भएको छ ।

यस्तो छ जयशंकरको दुई दिने भ्रमण तालिका
आज काठमाडौं आइपुगेका जयशंकर भोलिसम्म नेपाल बस्ने छन् । उनले आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका लागि उनी बालुवाटार पुग्ने र आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्ग्स्थित याक एण्ड यति होटल आइपुग्ने छन् । आयोगको बैठकमा उनी ६ बजेसम्म बस्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरको स्वागतमा साँझ ७ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना रात्रि भोजमा सहभागी हुनेछन् । त्यस्तै भोलि बिहान साढे १० बजे राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नेछन् । त्यसपछि उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्नेछन् ।