२ चैत्र २०८२, सोमबार
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।
साउन २० गते चितवनको होटल कंगारुमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले मृत्युअघिको भिडियोमा प्रेमिका भनिएकी अस्मिता कार्की, ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक रवि लामिछाने र सहयोगी युवराज कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका थिए ।


तीनै जनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते बिहीबार साँझ पक्राउ गरेको थियो । पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो।
पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । ‘
पुडासैनीले भिडियोमा लामिछानेको कार्यक्रम छाडेपछि आफूले धेरै धम्की खेपेको र आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए ।
तर रवि लामिछानेले भने आफ्नो कुनै संलग्नता नरहेको र प्रहरीले अनुसन्धान गर्दा दोषी भेटिए आफू कारबाहीको भागीदार हुने धारणा फेसबुकमार्फत सार्वजनिक गरेका थिए।