‘२० लाख पर्यटक नआए पनि मन्त्रीको दालभात चलिहाल्छ, तपाईंहरुको पो चल्दैन’

होमल्याण्ड खबर

२०७६ भाद्र ११ गते, बुधबार १६:३७ मा प्रकाशित

मन्त्री नियुक्त भएपछि पहिलोपटक पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को लक्ष्य पूरा नभए पनि सरकारको दालभात नरोकिने टिप्पणी गरेका छन् । बुधबार दिउँसो पोखराका पर्यटन व्यवसायीहरुसँगको छलफलका क्रममा मन्त्री भट्टराईले उक्त अभिव्यक्ति दिएका हुन् ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष र २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पर्यटन व्यवसायीले नै असम्भव भन्ने अभिव्यक्ति नदिन पनि उनले आग्रह गरे । सरकारले तोकेको संख्यामा पर्यटक आउँदैनन् भनेर हिरो तथा नेता नबनिने उनको जवाफ थियो ।

“एउटा कुरा भन्छु है म पोखरेली साथीहरु ! यता ध्वस्त छ, उता ध्वस्त छ, यो बिग्रियो, त्यो बिग्रियो । त्यति साह्रो बिग्रेको चाहिँ छैन है । केही पर्यटन व्यवसायी साथीहरुको मैले स्टेटमेन्टहरु हेर्छु, टेलिभिजनमा विभिन्न ठाउँमा,  २०२० मा २० लाख पर्यटक आउन सम्भवै छैन भनेर भन्नुहुन्छ,  किन भन्नुपर्यो ? त्यो भनेर के तपाईं हिरो हुनुहुन्छ, नेता हुनुहुन्छ ?” उनले प्रश्न गरे ।

पर्यटन व्यवसायीले नै नकारात्मक टिप्पणी गर्दा पर्यटन क्षेत्र निरुत्साहित हुने र सरकारको नभई उनीहरुकै दालभात रोकिने उनको तर्क छ । “तपाईं पर्यटन व्यवसायी हुनुहुन्छ, उद्यमी हुनुहुन्छ । अनि तपाई आफैंलाई डिस्करेज गर्ने ? २० लाख नआए  पनि त सरकारको मन्त्रीको दालभात चलिहाल्छ नि, तपाईंको पो चल्दैन । अनि आफ्नो दालभात बन्द गर्ने स्टेटमेन्ट दिने ? के भनेको ?” उनले थपे, “आफ्नै दालभात बन्द गर्ने काम, यस्ता स्टेटमेन्टहरु नदिनुस् ।”

२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा यसअघि आउने १२–१५ लाख पर्यटकमा ५ लाखमात्र थप गरिने हुँदा कुनै ठूलो कुरा नभएको उनको भनाइ छ । “यहाँ धुवाँ छ, यहाँ धुलो छ, यहाँ बाटो भत्क्या छ, कुन टुरिष्ट आउँछ ? भन्ने जस्ता कुरा आइराखेका छन् । ५ लाख थप्ने भन्ने त हो नि । ठूलो कुरा गरेका छौँ र हामीले ?”

पर्यटन व्यवसायीहरुलाई उनले देशको दुर्दशाको व्याख्या नगर्न पनि सुझाव दिए । “हामी मान्छौँ, पूर्वाधार राम्रो छैन, यो कुरा थाहा छ नि । तपाईंलाई के फाइदा हुन्छ त्यस्तो फोटो फेसबुकमा हालेर ?” उनले भने, “अरु देशका पर्यटकलाई हाम्रो देशको दुर्दशाको व्याख्या किन गर्नू ? केही कमी छ भने सच्याउँला । अवश्य पनि विगतको भन्दा राम्रो भएको होला, विस्तारै हुँदै पनि जान्छ । हामी पनि विश्वका धेरै देश घुमेका छौँ । कुनकुन देशमा लगेज निकालेर बाहिर ट्याक्सी स्टाण्डमा आउन कति समय लाग्छ, हामीलाई पनि थाहा छ ।”