सुर्खेतमा गाई भीरबाट खसालिए, २० वटा मरे

होमल्याण्ड खबर

२०७६ भाद्र १३ गते, शुक्रबार १५:०४ मा प्रकाशित

नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई भीरबाट खसालेर मारेको पाइएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलको ठाडो भीरबाट गाई खसालिएको र खसालिएकामध्ये २० वटा गाई मृत फेला परेका छन् । मारिनेमा बढी बाछाबाछी छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार कसले के प्रयोजनका लागि गाई भीरबाट खसालेको खुल्न नसकेको बताए ।

उनका अनुसार कटुवा जंगलमा गाई मारिएको खबर आएलगत्तै प्रहरी परिचालन गरेर गाई लैजानेको खोजी भइरहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले रातिको समयमा गाई भीरबाट खसालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनका अनुसार गाई ओसार्न प्रयोग भएका पाँचवटा ट्रिपर अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

“जंगलमा १५० गाई फेला परेका छन् । कति ल्याइएको थियो भन्ने पनि खुलेको छैन,” उनले बाह्रखरीसँग भने, “भीरबाट खसालेका गाईहरू गम्भीर घाइते पनि छन् । उनीहरूलाई सुर्खेतकै भेटनरी डक्टरहरूले उपचार गराइरहेका छन् । सबै गाईको कानमा ट्याग लगाइएको छ ।

उनले नेपालगञ्जबाट गाई ल्याइएको हुन सक्ने बताए । नेपालगञ्जको काञ्जी पार्कमा छाडा चौपाया संरक्षण गृहसमेत छ ।