३ चैत्र २०८२, मंगलवार
राष्ट्रिय सभाका केहि सांसदहरुले पत्रकार बन्नका लागि परिक्षा उत्तिर्ण हुनुपर्ने प्रावधान मिडिया काउन्सिल विधेयकमा राख्न प्रस्ताव गरेका छन्।
राष्ट्रिय सभाका ५९ मध्ये नेकपाका ठगेन्द्र प्रकाश पुरी मूल संशोधनकर्ता रहेको संशोधनमा अन्य १४ सांसदको समर्थन छ।


सांसदहरु शेरबहादुर कुँवर, रामलखन चमार, उदयाशर्मा पौडेल, सिंहबहादुर विश्वकर्मा, खिमकुमार विश्वकर्मा, नन्दा चपाईं, युटोल तमाङ, हरिचरण शिवाकोटी, मिना बुढा, दिलकुमारी रावल, चक्र स्नेही, जीवन बुढा, भैरवसुन्दर श्रेष्ठ र कमलाकुमारी ओलीले परिक्षा प्रणालीको समर्थन गरेका छन्।
पुरी सहित १५ सांसदले दर्ता गराएको संशोधनमा त्यस्तो प्रणालीलाई ‘पत्रकारिता व्यवसायी परिक्षा’ नाम दिन प्रस्ताव गरिएको छ।
मिडिया काउन्सिलले लाइसेन्स परिक्षा लिने र सो परिक्षा वर्षमा दुईपटक लिने प्रावधान राख्नुपर्ने सांसदहरुले संशोधनमा उल्लेख गरेका छन्।
पुरी सहितका सांसदले लिखित परिक्षा ९० प्रतिशत अंकको र १० अकंको मौखिक परिक्षाको अङ्कभार राख्न प्रस्ताव गरेका छन्।
साथै उनीहरुले पत्रकारितामा कम्तीमा कक्षा १२ पास गरेका वा अन्य विषयमा स्नातक गरेका व्यक्तिले सञ्चार प्रतिनिधिको प्रमाणपत्र दिने व्यवस्था राख्नुपर्ने संशोधन हालेका छन्।
त्यस्तै राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौड्यालले पनि प्रेस काउन्सिलले पत्रकारको परिक्षा लिने व्यवस्था राख्न संशोधन दर्ता गराएकी छन्।
सांसद पौड्यालले काउन्सिललाई सञ्चारकर्मीको गुणस्तर मापन गर्न पाठ्यक्रम बनाउने र परिक्षा प्रणाली विकास गर्ने र परिक्षा लिने, नतिजा प्रकाशित गर्ने र लाइसेन्स दिने अधिकार दिन प्रस्ताव गरिएको छ।
मिडिया काउन्सिल विधेयकमा ८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।