आजदेखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पारिँदै

होमल्याण्ड खबर

२०७६ भाद्र १८ गते, बुधबार १०:२४ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले आजदेखि त्यहाँ भइरहेको काम ठप्प पार्ने भएका छन् ।

आयोजनाको काम छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म चिनियाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणासहित आजदेखि संघर्ष समितिका सदस्य धर्नामा बस्ने भएका हुन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना बस्ने जनाएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई एक साताको समय दिएको थियो । बुधबार उक्त समयसीमा सकिएको छ ।

समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा धर्ना बस्न लागेको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।

समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यलाई उदृत गर्दै सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिले जनाएको छ ।