भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको सम्पूर्ण तयारी पूराः डेढ लाख पर्यटक भित्र्याउने घोषणा

होमल्याण्ड खबर

२०७६ भाद्र १८ गते, बुधबार १६:१९ मा प्रकाशित

कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ ।

उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिले यो महामेलाबाट डेढ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए ।

उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको बताए ।

कार्यक्रममा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको बताएका छन् ।

उनले सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए ।

त्यस्तै ॐकार ध्वनीका संस्थापक मुकुन्द शर्माले चराचर जगतको महिमा सुनाउँदै तीन दिनको अनुष्ठान् मेलाका लागि अभियान सुरु भएको र अभियान अत्यन्त राम्रो र धार्मिक भएको प्रतिक्रिया दिए ।