एसिड आक्रमणमा परेकी किशोरीलाई काठमाडौं ल्याइँदै

होमल्याण्ड खबर

२०७६ भाद्र २० गते, शुक्रबार १२:२२ मा प्रकाशित

एसिड आक्रमणमा परेकी वीरगञ्ज महानगरपालिका–३ कि १५ वर्षीया किशोरीलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको हो । एसिड आक्रमण परेकी खातुन थरकी किशोरीको मुख र छातीमा समस्या देखिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका–२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत किशोरीलाई एसिड प्रहार गरेका थिए । एसिड प्रहार गर्नेमध्ये १६ वर्षीय सम्साद मियालाई प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

अर्का एकजना माजिद आलमको खोजी कार्य जारी छ । प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको हुनसक्ने बताइएको छ । यस्तै पीडित किशोरीको उपचारका लागि पर्साका सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले आफ्ना सहयोगी निखिल बर्नवालमार्फत् पीडित परिवारलाई उपचारका लागि ५० हजार सहयोग गरेका हुन् ।