९ मंसिर २०८१, आईतवार
सन् २०१९का लागि कोरिया जान भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् ।
यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका छन् । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए । गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो ।
यो वर्ष कृषितर्फ ३९ हजार ६ सय ४० जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाकाअनुसार यसवर्ष कृषिमा ३० हजार १७९ पुरुष र ९ हजार ४६१ महिलाले परीक्षाका लागि आवेदन पेस गरेका छन् । उत्पादन मुलकतर्फ ४२ हजार ६२४ जनाले दरखास्त दिएका छन् । त्यसमध्ये ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिला छन् ।
भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । पोखरा केन्द्रबाट १२ हजार जनाले परीक्षा दिन पाउनेछन् । अन्य ७० हजारले काठमाडौंमा परीक्षा दिनुपर्नेछ । यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।