३ चैत्र २०८२, मंगलवार
अविरल वर्षाका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले खुलेको छ ।
अविरल वर्षापछि मौसम प्रतिकूल हुँदा ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो।


विमानस्थलबाट हुने दुवैतर्फका उडान भने रोकिएको थिएन। विमानस्थलको अवरुद्ध अवतरण सेवा डेढघण्टापछि खुल्ला गरिएको हो ।
अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए।
त्यस्तै कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’ मै थिए। उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३ सय आन्तरिक उडान—अवतरण हुँदै आएको छ।
यसैगरी अविरल वर्षाका कारण लुक्लाबाट काठमाडौंका लागि उडेका ७ वटा पनि हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन्।
काभ्रेको पाँचखालमा ४ वटा र सिन्धुलीको नेपालथोकमा ३ वटा हेलिकोप्टर अवतरण भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
हेलिकोप्टरमा सवार यात्रु सकुशल रहेको पनि प्रहरीले जानकारी गराएको छ ।