नेपाल टेलिकमको भोलिदेखि अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा थप १३ मुलुकमा

होमल्याण्ड खबर

२०७६ आश्विन २ गते, बिहीबार १५:५१ मा प्रकाशित

नेपाल टेलिकमले गएको भदौ २० गतेदेखि भारतबाट पुनः सञ्चालन गरेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकहरुमा विस्तार गरेको छ । संविधान दिवसको अवसरमा शुक्रबार (भोलि)देखि यी मुलुकहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।
अब यस कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरुले चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्वीट्जरल्याण्ड, मलेसिया, सिङ्गापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने टेलिकमले बताएको छ ।
साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) प्रयोग गर्न सक्ने छन् । “हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरुलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ,” टेलिकमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
केही समयभित्रै डाटा तथा प्रिपेड रोमिङ सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लाने पनि टेलिकमले बताएको छ ।