संविधान दिवस : २२ जना सजायमुक्त, २ सय ६० जनाको कैद मिनाहा

होमल्याण्ड खबर

२०७६ आश्विन ३ गते, शुक्रबार १२:०६ मा प्रकाशित

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले २२ जनाको सजाय माफीसहित २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । हालै मात्र मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरी राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार कैद कट्टा हुनेमा भीमबहादुर शेर्पालगायत छन् । संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसरी सजाय माफी हुनेमा रामकिशोर साह तेलीलगायत रहेको शितलनिवासले जनाएको छ ।