३ चैत्र २०८२, मंगलवार
दशैं मनाउन घर जाने यात्रुहरूलाई लक्षित गरी आज आइतबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
यातायात व्यवसायी र सरकारबीच दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला हुन गइरहेको हो ।


दशैंमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको अत्यधिक चाप हुने भएकाले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउने गर्ने गर्दछन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँग बसेको बैठकले आजबाट टिकट खुलाउने सहमति गरेको थियो ।
आजबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।
भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले तोकिएकै काउन्टरबाटै टिकट लिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभनमा नपर्न पनि महासंघका महासचिव सरोज सिटौलाले अनुरोध गरेका छन् ।
टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ ।
उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुनधारा, नागढुंगा, जगाती र लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।
दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ ।