चीनलाई कुनै शक्तिले हल्लाउन सक्दैन : शी चिनफिङ

होमल्याण्ड खबर

२०७६ आश्विन १४ गते, मंगलवार १२:५९ मा प्रकाशित

चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई कसैले पनि हल्लाउन नसक्ने बताएका छन् । चीनले कम्युनिस्ट शासन शुरू भएको ७०औं वर्षगाँठ मंगलवार मनाएको छ ।

परेडलाई सम्बोधन गर्दै राष्ट्रपति शी चिनफिङले कुनै पनि तागतले यस महान राष्ट्रको आधार हल्लाउन नसक्ने बताएका हुन् ।

बेइजिङमा भव्य सैन्य परेड गरेर चीनले आफ्नो अत्याधुनिक प्रविधि संसारलाई देखाएको छ ।

चीनको पुरानो र नयाँ नेतृत्वले तियानानमेन स्क्वेयरमा १५ हजार सैनिकको परेड अवलोकन गरेको थियो । परेडमा नयाँ हाइपरसोनिक ड्रोन र अमेरिकामा मार हान्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्रहरू समेत देखाइएका थिए ।

सैन्य परेडपछि नागरिक परेड पनि आयोजना गरिएको थियो । त्यसमा जनगणतन्त्र चीनका संस्थापक नेता माओत्से तुङ लगायतका राष्ट्रिय हस्तीलाई सम्मान दिइएको थियो । अनि आर्थिक महाशक्ति बन्नुअघि चीनको पहिचानका रूपमा रहेको साइकललाई पनि सम्मान गरिएको थियो ।

शीले सत्तामा पकड बनाउन वर्षौंदेखि प्रयास गरिरहेका थिए र माओपछिका सर्वाधिक प्रभावशाली नेता बन्न उनी सफल भएका छन् । उनले चीनको आर्थिक उदय र त्यस उदयमा पार्टीको भूमिकाका विषयमा भाषण दिए ।

‘यस महान् राष्ट्रको आधारलाई हल्लाउने कुनै शक्ति छैन । कुनै पनि शक्तिले चिनियाँ र चीनलाई अघि बढ्न रोक्न सक्दैन,’ उनले भने ।

‘चीनको विगत इतिहासमा लेखिसकिएको छ, चीनको भविष्य झनै राम्रो हुनेछ । हाम्रो पार्टीले चीनलाई एकजुट बनाउन अनि हाम्रो मिसन नबिर्सन प्रयास गरिरहनेछ,’ उनले थपे ।

परेडमा मार्चपास्ट माथि हेलिकप्टर उडाएर शुरू गरिएको थियो । हेलिकप्टरहरूले कम्युनिस्ट पार्टी, राज्य र सेनाका झण्डा फर्फाराएका थिए । यसबाट चिनियाँ नेतृत्वले कम्युनिस्ट पार्टीलाई सर्वोपरि राख्ने संकेत दिएको छ ।