काठमाडौँ र ललितपुरमा रगत अभाव: रक्तदान गरिदिनुहुन रक्तसञ्चार सेवाको अनुरोध

होमल्याण्ड खबर

२०७६ कार्तिक ६ गते, बुधबार १५:४६ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले काठमाडौँमा यो हप्ता देखि रगतको अभाव भएकोले रक्तदान गर्न आव्हान गरेको छ । सवैको सहयोगले पर्याप्त स्टक भएको कारण दशैँको समयमा रगत अभाव नभएपनि दशै पछि रक्तदान कार्यक्रम घटेकोले अभाव बढेको हो ।

नेपालीहरुको चाड दशैं भरखरै सकिएको तथा तिहार र छठ लगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजहरु समेत बन्द भएको र रक्तदान कार्यक्रमहरु पनि कम भएकोले अहिले रगतको माग बमोजिम आपूर्तिमा कठिनाई परेको रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले बताए। उनले भने : “डेंगु लगायत विभिन्न रोगबाट प्रभावित बिरामीहरुको लागी रगतको माग छ, यस्तोमा विरामीका आफन्तहरुलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौँ ।

रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठका अनुसार अहिले सेवा केन्द्रको कालिमाटी कार्यालयमा दैनिक औषतमा ३०० यूनिट रगतको माग भै आएको छ, तर आपूर्ति गर्न कठिनाई भइरहेको छ । निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै संघ संस्थासँग रक्तदान कार्यक्रमको लागि पहल गरिरहेको जानकारी दिइन्। ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए ।

रगत नपाए भक्तपुर जानु :
रक्त सञ्चारको भक्तपुर शाखाले भने रगत नपाए भक्तपुर जानु अभियान चलाइरहेको छ । भक्तपुर शाखाका सभापति मनोज थापाले भने “ छिमेकी जिल्लाहरु र स्थानीय संघ संस्थाबाट पनि आपूर्तिको व्यवस्था गरिरहेका छौँ । विरामीहरुका आफन्तले अस्पतालको पूर्जि ल्याएपछि स्थानीय डोनरहरुको नेटवर्कलाई अनुरोध गरेर पनि व्यवस्था गरिरहेका छौँ ।”