इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी ‘रस्मिया’ टर्कीद्वारा पक्राउ

होमल्याण्ड खबर

२०७६ कार्तिक १९ गते, मंगलवार १२:०४ मा प्रकाशित

इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादी मारिएको केही दिनलगत्तै उनकी दिदी समेत पक्राउ परेकी छिन् ।

उत्तरी सिरियाको अजाज नगर नजिकैबाट बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई सोमवार पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका हुन्। उक्त नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पो प्रान्तमा पर्छ।

अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको  समेत जनाइएको छ।

अहिले पक्राउ गरिएकी अवादलाई सूचनाकी खानी भन्दै अब उनले थुप्रै सूचना दिन सक्ने पनि आँकलन गरिएको छ ।

यसअघि अमेरिकी विशेष फौजले गत अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल बग्दादी मारिएका थिए।

यसैबीच अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार बग्दादीका पाँच दाजुभाइ र धेरै दिदीबहिनी भए पनि उनीहरू सबै जीवित रहेको वा नरहेको भन्ने बारे भने केही स्पष्ट छैन।

 

– बीबीसीको सहयोगमा