आज हरि बोधिनी एकादशी : यस्तो छ पूजाविधि र तुलसीको महत्व

होमल्याण्ड खबर

२०७६ कार्तिक २२ गते, शुक्रबार ०८:४७ मा प्रकाशित

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज शुक्रबार मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महीनामा विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढीपहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।