४ चैत्र २०८२, बुधबार
नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ । दूतावासका अनुसार गएको शुक्रबार राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन् ।
‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा शुक्रबार भेटवार्ता भयो । वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासले सोमबार ट्विट गर्दै भनेको छ ।


दूतावास स्रोतका अनुसार उक्त भेटमा राजदूत आचार्यले कालापानी क्षेत्र नेपालको भएको अडान दोहोर्याउँदै सीमामा देखिएको समस्या वार्ताबाट तुरून्त हल गर्नु पर्ने धारणा राखेका थिए । अहिले नै जारी प्रक्रिया वा आवश्यक परे नयाँ प्रक्रियाबाट भए पनि विवाद चाँडै समाधान गर्नु पर्नेमा आचार्यले जोड दिएका थिए ।
जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाउन भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा सबै राजनीतिक दलले कालापानी क्षेत्र नेपाली भूमि भएको उल्लेख गर्दै फिर्ता गर्न भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताएका थिए । सर्वदलीय बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले भारतसँग विभिन्न चरणमा कूटनीतिक पहल गर्ने बताएका छन् ।