उदयपुरमा प्रहरी र स्थानीयबीच झडप

होमल्याण्ड खबर

२०७६ मंसिर ३ गते, मंगलवार १३:३२ मा प्रकाशित

उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ ।

ढुंगा उत्खननको विषयलाई लिएर अवरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिपरलाई सदरमुकामतर्फ लान खोजिएपछि झडप भएको स्थानीयले जनाएका छन् ।

सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो । मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो ।

तर, स्थानीयले टिपर लगिएको सूचना पाएलगत्तै अवरोध जनाएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदपुरको सञ्चार शाखाले जनाएअनुसार नगरपालिकाले पर्याप्त छलफलबिनै लालबजारको खोलाबाट गिटी बालुवा निकाल्न टेण्डर खुलाएको स्थानीयवासीको भनाइ छ ।

अहिले स्थानीयले यातायात सेवा ठप्प पारेका छन् । एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन् । झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ ।