मनाङमा नेपाल टेलिकमको जीएसएम सेवा

होमल्याण्ड खबर

२०७६ मंसिर ८ गते, आईतवार १३:४३ मा प्रकाशित

मनाङमा सञ्चारसँग जोड्न जिल्लाभित्र बिभिन्न प्रयासका कामहरू भैरहँदा अब जिल्लाको चारवटै स्थानीय तहमा नेपाल टेलिकमको जीएसएम सेवा सञ्चालनमा आएको छ । भर्खरै मात्र मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङमा नेपाल टेलिकमको मोबाइल टावर स्थापना गरी सञ्चालनमा आएको छ । पिसाङको उपल्लो पिसाङको गुम्बानजिकै राखिएको नेपाल टेलिकमको टावरको मनाङका निर्वाचित प्रतिनिधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङले टावरको उद्घाटन गरेका थिए ।

नेपाल टेलिकम मनाङ शाखाका अनुसार एक पटकमा ५० जनासम्मले एकतर्फी कुरा गर्न मिल्ने प्रविधि थ्रीजी इन्टरनेट सेवा सञ्चालनमा आएको हो । पछि आवश्यकअनुसार यसै टावरबाट फोरजी सेवा पनि सञ्चालनमा ल्याउन मिल्ने नेपाल टेलिकम मनाङ शाखाले जनाएको छ । सोही अवसरमा सांसद गुरुङले एनटिसी मोबाइलमा कुरा गरेर पहिलो प्रयोगकर्ता बनेर सुरुवात गरेको स्थानीय होटल व्यवसायी पशुपति अधिकारीले बताए । जिल्लाको अति बिकट मानिने नार्पा भूमिगाउँपालिकाअन्तर्गत फू गाउँमा दूरसञ्चारको टावर यसअघि मात्र सञ्चालनमा आएको छ । त्यस्तै मनाङको माथिल्लो क्षेत्र खाङसारमा नयाँ टावर स्थापना गरी सञ्चालनमा आएपछि जिल्लाको सदरमुकाम चामेमा रहेको नेपाल टेलिकमको टावर पनि टावरको उचाइमा अपग्रेड गरेपछि मनाङ सञ्चार सेवामा सहज भएको छ ।

पिसाङमा राखिएको स्याटलाइट लिंक प्रयोग गरी मोबाइल सेवा प्रदान गरिएको टावरले पिसाङलगायत ढुकुर पोखरी, भ्राताङ, स्वार्गद्वारी, तल्लो पिसाङ, घ्यारु, ङावल र हुम्डेसम्म सहज बनाउनेछ । उक्त स्थानमा पहिला टेलिकमको टावर नहँुदा मोबाइलमा फोनसमेत गर्न असहज भएको स्थानीयहरूको समस्या अब टावर सञ्चालन भएसँगै सकिएको र अब सहज टोलिफोन हुने भएपछि स्थानीयहरू खुसी भएको स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । टावर उद्घाटनमा उपस्थित सांसद पोल्देन छोपाङ गुरुङले यो र यस्ता टावरहरूको नियमित सञ्चालनका लागि नेपाल टेलिकमका कर्मचारीहरूले ध्यान दिनुपर्ने बताएका थिए ।