४ चैत्र २०८२, बुधबार
शनिबार हुने उपनिर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि शनिबार बेलुकी ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको छ।
त्यस समयमा अत्यन्तै जरूरी सवारीसाधन एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका अधिकृतबाट अनुमति प्राप्त सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।


भक्तपुरको अरनिको राजमार्ग साँगादेखि राधेराधेसम्मको सडकबाट उत्तरतर्फ जाने बाटो र राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडकबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधनहरूमा प्रवेश रोक लगाइएको छ।
साथै, पेप्सीकोला मनोहरादेखि निकोशेरा सडकबाट उत्तरतर्फ जाने बाटोमा पनि सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ। काठमाडौंबाट भक्तपुर जाने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका बाहेकका अन्य नाकाबाट प्रवेश निषेध गरिएको छ।
त्यस्तै, काभ्रेबाट भक्तपुर जाने साँगा नाका बाहेक अन्य सबै नाकाहरूमा सवारीसाधनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो।