अझै २३ लाख जनाले लिएनन् प्यान नम्बर

होमल्याण्ड खबर

२०७६ मंसिर १७ गते, मंगलवार १४:३१ मा प्रकाशित

नेपालमा आर्थिक कारोबारका हिसावले ४० लाख जनाले प्यान नम्बर लिनुपर्ने भएपनि अहिलेसम्म जम्मा १७ लाखले मात्र प्यान नम्बर लिएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

सरकारले आर्थिक कारोबारका हरेक पाटोमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपनि २३ लाख जनाले अझै प्यान नम्बर लिएका छैनन् ।

‘जनसंख्या र काम गर्ने मानिसलाई हेर्दा प्यान लिनेको संख्या ४० लाखसम्म हुनुपर्ने हो’, विभागका निर्देशक कृष्ण बहादुर बोहोराले भने, ‘अहिलेको संख्यासँग सरकार सन्तुष्ट छैन ।’

सरकारले चालु आर्थिक वर्षदेखि सम्पूर्ण आर्थिक कारोबार (पारिश्रमिक लिँदा, दिँदा लगायत) गर्दा प्यान नम्बर अनिवार्य गरेको छ ।

प्यान नम्बर अनिवार्य गरेपछि कारोबारमा संलग्न सबैले प्यान नम्बर नलिएपनि लिनेको संख्या भने ८८ प्रतिशतले बढेको छ । चार महिनाको अवधिमा करिब ८ लाख जनाले प्यान नम्बर लिएको विभागको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा करिब ९ लाख जनाले प्यान नम्बर लिएका थिए । सरकारले व्यवसाय सञ्चालन गर्दा पनि स्थायी लेखा नम्बर अनिवार्य गरेपछि १२ लाख ९३ हजारले प्यान लिएका छन्। यस्तै, करिब दुई लाख ४० हजार फर्मले भ्याटमा दर्ता भएर कारोबार गरेका छन्।