आइजिपी खनालले गरे साग खेलकुद भइरहेको पोखराको स्थलगत निरीक्षण

होमल्याण्ड खबर

२०७६ मंसिर २२ गते, आईतवार १३:४८ मा प्रकाशित

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पोखरामा भइरहेको १३ औं साग खेलकुदको सुरक्षा अवस्थाबारे आज स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

खनाल आज पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक एवं गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, राखेपका सदस्य राजेश गुरुङ, प्रदेश सांसदद्वय मोहन रेग्मी र दिपक कोइराला, पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसी, र सुरक्षा निकायका अधिकारीलगायतकासँग जानकारी लिएका हुन् ।

उनले सुरक्षा निकायका अधिकारीहरुलाई साग खेलकुदमा सुरक्षा थप मजबुत बनाउन निर्देशन दिए ।

खनालले आजै वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे । उनले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गरेका थिए ।

यसैगरी महानिरीक्षक खनालले गत शुक्रबार १३ औं साग खेलकुद भइरहेको जनकपुर पुगेर त्यहाँको वस्तुस्थितिबारे समेत जानकारी लिएका थिए ।