जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशहरुलाई आह्वान

होमल्याण्ड खबर

२०७६ मंसिर २६ गते, बिहीबार १५:२५ मा प्रकाशित

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालजस्ता कम विकसित मुलुकहरुका लागि जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानीका लागि विकसित देशहरुलाइ आह्वान गरेका छन् ।

स्पेनको राजधानी मेड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाइ कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराए । विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने उनको भनाई थियो ।

दक्षिण एसियामा मात्र विश्वको २० प्रतिशत जनसंख्या हिन्दु–कुश हिमालय क्षेत्रको ताजा खानेपानीमा निर्भर रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरले खानेपानीका स्रोतहरु खतरामा रहेको औंल्याए ।

हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्याधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी गराउँदै उनले यो क्षेत्रमा विषेश ध्यान दिन सरोकारवालाहरुको ध्यानार्षण गराए ।

मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाइ प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी समेत गराए ।