भारतमा नागरिक संशोधन कानूनको विरोध, हिंसात्मक प्रदर्शन

होमल्याण्ड खबर

२०७६ पुष २ गते, बुधबार १०:३२ मा प्रकाशित

नागरिकता संशोधन सम्बन्धी नयाँ कानून भारतको लागी भारी परेको छ ।

विरोधमा भारतका पूर्वोत्तर राज्यबाट सुरु भएको आन्दोलन अहिले भारतका अधिकांश क्षेत्रमा फैलिएको छ ।

विशेष गरी राजधानी दिल्लीमा प्रदर्शन बिस्तारित भएका छन् । तर शान्तिपूर्ण प्रदर्शनहरु हिंसामा परिणत भएका छन् ।

मंगलबार दिल्लीको सीलमपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा प्रदर्शन सुरु भएको थियो र केही समयपछि सो प्रदर्शनले हिंसात्मक रुप लियो । एक हजार भन्दा बढी प्रदर्शनकारी रहेको भिडमा हिंसा भड्कियो । एक स्कूल बसमा तोडफोड तथा प्रहरी चौकीमा आगजानी भएको जनाइएको छ ।

प्रदर्शनकारी र प्रहरीबिच झडप भयो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्ली प्रहरीले अवस्था नियन्त्रणमा लिएको बताएको छ ।

यसैबिच जामिया मिल्लिया इस्लामिया विश्वविद्यालय र आसपासका क्षेत्रमा गएको आइतबार भएको हिंसात्मक प्रदर्शनलाई लिएर दिल्ली प्रहरीले कांग्रेसका पूर्व विधायक आसिफ खानविरुद्ध आरोप पत्र दायर गरेको छ ।

जामिया क्षेत्रमा भएको हिंसामा संलग्न भएको आरोपमा दिल्ली प्रहरीले मंगलबार कांग्रेसका पूर्व विधायक खानविरुद्ध जाहेरी दर्ता गरेको हो ।

यस्तै दिल्लीको साकेत अदालतले जामिया मिल्लियामा भएको हिंसाको अभियोगमा प्रहरीले पक्राउ गरेका ६ जनालाई १४ दिन न्यायीक हिरासतमा राख्न आदेश दिएको छ ।

देशभर अवस्था बिग्रिँदै गएका बेला विपक्षी पार्टीहरुकी नेतृ कांग्रेस प्रमुख सोनिया गान्धीसहितको टोलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेको छ ।

कांग्रेस प्रमुख गान्धीले राष्ट्रपतिसँग नरेन्द्र मोदी सरकारप्रति गुनासो गरिन् । सरकारले शान्तिपूर्ण प्रदर्शनलाई कुल्चिने प्रयास गरेको उनले बताएकी छन् । लोकतन्त्रमा जनताको आवाज दबाउन नसकिने उनले बताइन् ।