अपहरणमा परेका मगरकाे सकुशल उद्धार, अपहरणकारी पक्राउ

होमल्याण्ड खबर

२०७६ पुष ३ गते, बिहीबार ११:०३ मा प्रकाशित

अपहरणमा परेका नरेश थापा मगरलाई ८ घण्टाभित्र सकुशल उद्धार गरी अपहरणकारी समात्न प्रहरी सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहका अनुसार मकवानपुर प्रहरीले विशेष सुराकीका आधारमा पाँच जना अपहरणकारीलाई प्रक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार बुधबार बिहान अम्लेखगन्जबाट काठमाडाैं जाँदै गरेको बा२ज ५९५ नम्बरको ट्याक्सीमा सवार रामेछाप दोरम्बा-५ का २१ वर्षीय थापा मगर अपहरणमा परेका थिए ।

उनलाई हेटौंडा-४ स्थित फरेस्ट्री गेट अगाडिबाट बा२ज ५३५६ नम्बरको ट्याक्सीमा आएका ३ जनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरेका थिए ।

अपहरित मगरलाई हेटौंडा-९ लामसुरेस्थित सरस्वती लामाको घरमा बन्धक बनाइराखेको अवस्थामा सकुशल उद्धार गरिएकाे प्रमुख सिंहले बताए। प्रहरीले साँझ पत्रकार सम्मेलन गरी अपहरणमा परेका र अपहरणकारीलाई सार्वजानिक गर्दै घटनाबारे जानकारी दिएको हाे ।

प्रमुख सिंहले अपहरणमा संलग्न भएको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको बताए।

जसमा कैलाली धनगढी घर भई काठमाडाैं पुरानो बानेश्वर बस्ने आशिष सिजापती, कन्चनपुर श्रीपुर ६ बस्ने सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका ६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका ४ घर भएका बा २ ज ५३५६ नम्बरका ट्याक्सी चालक आशिक लामा रहेका छन् ।

मगरलाई बन्धक बनाइराख्ने घरधनी हेटौंडा-९ लामसुरे बस्ने सरस्वती तामाङलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अपहरणपश्चात उनीहरुले १० करोड रुपैयाँ फिरौती मागेको र दिन नसक्ने भनेपछि कुटपिट गरेको पीडित थापा मगरले बताए ।