संसद् अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने

होमल्याण्ड खबर

२०७६ पुष ४ गते, शुक्रबार ०९:१५ मा प्रकाशित

संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्।

सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।

संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ।

संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ।

यस्तोमा उपसभामुखले अध्यक्षता गर्ने कि नगर्ने भन्ने अन्योल थियो। तर शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ।

नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तासीन नेकपा तयार भएको हो। संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी उपसभामुखले अध्यक्षता गर्दा कुनै बाधा नपर्ने तर्क गर्छन्।

राष्ट्रियसभाले अध्यक्ष नभएको अवस्थामा उपाध्यक्षले बैठकको अध्यक्षता गर्न पाउने व्यवस्थासहित नियमावलीमा संशोधन गरिसकेको छ।

विगतमा सुवास नेम्वाङ सभामुख भएका बेला बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्ने प्रचलन बसालेका थिए। त्यतिबेला बैठकको बीचबीचमा मात्र उपसभामुखले अध्यक्षता गर्थे।