९ मंसिर २०८१, आईतवार
चितवनमा बनिरहेको २ सय २० यात्रु क्षमताको मिनी पानीजहाजको नारायणी नदीमा सफल परीक्षण भएको छ ।
चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ ।
नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हाे ।
सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो । परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।
भरतपुर महानगरपालिका १६ काे ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ ।
क्रुज बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गएकाे वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
नर्वेजियन प्रविधि प्रयोग गरेर बनिरहेकाे क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुई वटा इञ्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ ।
क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ ।
अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ।
क्रुज सिपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताए।