५ चैत्र २०८२, बिहीबार
यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।
ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उहाँले सुनाउनुभयो । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।


बिदा छैन : गृह मन्त्रालय
यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले राससलाई जानकारी दिनुभयो ।
क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उहाँले बताउनुभयो ।
ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिए सहज हुने मागसमेत गरिएको छ । बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने मैतीदेवीका नारायणप्रसाद घिमिरेले गुनासो गर्नुभयो । रासस