न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन कानुन व्यवसायीहरुको जोड

होमल्याण्ड खबर

२०७६ पुष ८ गते, मंगलवार ११:५४ मा प्रकाशित

कानुन व्यवसायीहरुले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।

बार दिवसका अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै बार एशोसियशन र उच्च अदालत बार एशोसियसन पाटनले सोमबार संयुक्त रुपमा भक्तपुरमा आयोजना गरेको कार्यक्रमका सहभागी कानुन व्यवसायीहरुले न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै गएको भन्दै न्यायपालिकामा कुनै प्रकारको हस्तक्षेप हुन नहुने बताएका हुन् ।

कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकालाई स्वतन्त्र र जवाफदेही बनाउन नसक्दासम्म न्यायमा जनताको पहुँच अभिबृद्धि हुन नसक्ने बताए ।

बार अध्यक्ष श्रेष्ठले बार र अदालत एक सिक्काका दुई पाटाका रुपमा रहेपनि बार र बेन्चबीच अझै सुमधुर सम्बन्ध स्थापित हुन नसकेको आरोप लगाए ।

उनले राजनीतिबाट न्यायपरिषद् प्रभावित हुन नहुने बताउँदै योग्यता नहुनेलाई न्यायाधीश नियुक्त गर्ने अबस्था झांगिदै गएको टिपपणी गरे ।

न्यायलयलाई भ्रष्ट बनाउन वकिलको पनि दोष रहेको बताउँदै अध्यक्ष श्रेष्ठले खराब वकिललाई कारवाही गर्ने कि नगर्ने भनी प्रश्न गरे ।

राष्ट्रियसभाका सांसद तथा बरिष्ठ अधिबक्ता रामनारायण बिडारीले अख्तियारमा गएका आयुक्त घुस खाने र न्यायपरिषद्मा गएका ब्यक्ति जसरी पनि न्यायाधीश हुने प्रबृक्ति मौलाएको बताए ।

पुर्वमन्त्री तथा बरिष्ठ अधिवक्ता रमेश लेखकले लोकतन्त्रको आधारस्तम्भ न्यायालय कानुनसम्मत ढंगले अगि बढ्न नसकेको गुनासो गरे ।

बरिष्ठ अधिबक्ता हरिहर दाहालले न्याय परिषद्ले गलत गर्दा बारले खबरदारी गर्नुपर्नेमा जोड दिंदै न्यायमूर्ति न्याय मुर्कुटा बन्न नहुने बताए ।

बारका पुर्व अध्यक्ष बिश्वकान्त मैनालीले न्यायाधीशले गरेको फैसलाको प्राज्ञिक बिश्लेषण गरी न्यायको मुल्यांकन गर्नुपर्ने बताए ।

बरिष्ठ अधिबक्ता उपेन्द्रकेशरी न्यौपानेले न्यायलय सिद्धान्त र पद्धतिमा चल्नुपर्नेमा जोड दिंदै अदालत स्वतन्त्र बन्नुपर्ने बताए ।

बरिष्ठ अधिवक्त एकराज भण्डारीले सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश हुन पार्टीको झोले कार्यकर्ता बन्ने र पार्टीका नेता र कार्यालयमा लाम लाग्ने प्रबत्तिको अन्त्य हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा नेपाल कानुन आयोगका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता बाबुराजा जोशीले डिएलए र पिएलए को नाममा बारको अस्तित्वलाई कमजोर बनाउन नहुनेमा जोड दिए ।

कार्यक्रममा बारका उपाध्यक्ष रक्षा भुसाल, महासचिब लिलामणी पौड्याल, निवर्तमान महासचिब खम्ब बहादुर खाती, पुर्वमहासचिब बिजय मिश्र, भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारी, बरिष्ठ अधिबक्ता रुद्र पोखरेल, नेपाल बारका काठमाडौंका अध्यक्ष जगदिश घिमिरे, ललितपुर बार अध्यक्ष दिपक कुमार बिष्ट ,भक्तपुर बारका अध्यक्ष रबिन्द्र प्रधान लगायतले बेन्च र बारबीच विश्वासको वातावरण बनाउदैं निष्पक्ष न्याय सम्पादनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।