आज र भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने, के गर्ने, के नगर्ने ?

होमल्याण्ड खबर

२०७६ पुष ९ गते, बुधबार १०:१३ मा प्रकाशित

हिन्दू धर्म अनुसार आज बुधबार र भोलि बिहिबार दुई दिन औँसी तिथि परेको छ ।  बिहिबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएको छ ।

ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उहाँले सुनाउनुभयो । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्या (औँसी) का दिन विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । बुधबार नै पौषकृष्ण आमावास्या पर्ने भएकाले तीर्थ श्राद्ध गर्नुपर्ने भएपनि ग्रहणमा गरिने श्राद्ध भने बिहिबार नै गर्नुपर्ने जनाइएको छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । समितिका अनुसार तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ ।

वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन ।

यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।