५ चैत्र २०८२, बिहीबार
सीजी होल्डिंग्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशीलता विषयको मानार्थ विद्यावारिधि उपाधिले सम्मान गरेको छ । उनी यसरी सम्मानित हुने सीमित नेपालीमध्ये पर्छन् ।
लिम्ककविंग विश्वविद्यालयको दीक्षान्त समारोहमा मलेसियाका राजकुमार तथा लिम्ककविंग युनिभर्सिटीका संस्थापक तथा अध्यक्षले चौधरीलाई यो सम्मान दिएका हुन् । लिमककविंग विश्वविद्यालय सिर्जनशीलता र आविष्कारको केन्द्रमा गनिन्छ । अफ्रिका, युरोप, संयुक्त अधिराज्य र एसियामा यस विश्वविद्यालयको बलियो उपस्थिति छ ।


यो विश्वविद्यालयमा एक सय ५० भन्दा बढी मुलुकका ३० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यो एसियाको अब्बल आर्ट्स र डिजाइनको अध्यापन गरिने विश्वविद्यालयमध्ये पर्छ । एसियाली विश्वविद्यालयको क्युएस ¥यांकिङमा यसलाई उत्कृष्ट मानिन्छ ।
समारोहमा सीजी होल्डिंग्सका अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफूले शैक्षिक क्षेत्रमा हात हालेको बताए । उच्च शिक्षाका लागि नेपालबाट हरेक वर्ष दसौं हजार विद्यार्थी विदेश पलायन हुन्छन् । यसबाट विद्यार्थी र उनको परिवार कल्पनीय आर्थिक र मानसिक तनावबाट गुज्रनुपर्ने पनि उनले बताए ।
‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्थानीय रूपमा दिन सके युवाहरू जागिरे मानसिकताबाट रोजगारदातामा परिणत हुनेमा हामी विश्वस्त छांै,’ उनले भने । उनले भावी पुस्तामा बुद्धि र ज्ञान प्रतिस्थापन गर्न सके मुलुक शक्तिशाली र सफल हुने पनि बताए ।
‘हाम्रो उद्देश्य नाफामा सीमित छैन, समाज र राष्ट्रको हित पनि हो,’ उनले भने, ‘सफलता गन्तव्य होइन, यो त यात्रा हो ।’ हाल अरुण चौधरीले शिक्षा, पर्यटन, रियल इस्टेट, उत्पादन, आर्थिक सेवा, रिटेलिङ र अटोमोबाइललगायतको क्षेत्रमा व्यवसाय गर्ने सीजी होल्डिंग्सको नेतृत्व गरिरहेका छन् ।