एन्फाको चुनाव वैशाख २२ गते हुने

होमल्याण्ड खबर

२०७५ बैशाख १० गते, सोमबार ०५:३४ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ एन्फाले चुनाव मिति घोषणा गरेको छ । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएकोमा एन्फाको निर्वाचन समितिले आगामी वैशाख २२ गते शनिबार काठमाडौंमा चुनाव गर्ने गरीे आइतबार चुनावको मिति तोकेको हो ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो । त्यसपछि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो ।
एशियन फुटबल महासंघ एएफसीले चुनाव मिति जतिसक्दो चाँडो तोक्न एन्फालाई यसअघि नै निर्देशन दिएको थियो । एएफसीले एन्फालाई पत्र पठाएर भक्तपुर र मकवानपुरको चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा पनि केन्द्रिय चुनावको मिति तोक्न किन ढिलाई गरेको भन्दै प्रश्न समेत गरेको थियो ।
एन्फा चुनाव वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ । कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ । शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ ।