जापानमा रोजगारी : ‘झन्डै ८ हजार नेपाली आवेदकले भाषा र सीपको परीक्षा दिन पाउने’

होमल्याण्ड खबर

२०७६ पुष २१ गते, सोमबार १२:१६ मा प्रकाशित

गत वर्षदेखि सुरु भएको नेपाली कामदार लैजाने प्रक्रियालाई जापानले यो वर्ष थप तीव्रता दिने भएको छ ।

सन् २०१९ मा नर्सिङ केअरगिभरका लागि १,००० आवेदकले परीक्षा दिन पाएका थिए । अब वर्षभरि नै परीक्षा लिने कामलाई निरन्तरता दिइने जानकारी जापानले नेपाललाई गराएको अधिकारीहरूले बताएका छन् ।

“जापानले एकदुई महिनाको फरकमा नेपाली कामदार लैजान परीक्षा लिने जानकारी गराएको छ । त्यसरी परीक्षा लिने हो भने वर्षमा झन्डै ८,००० नेपालीले परीक्षामा भाग लिन पाउनेछन्,” श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले भने ।

ज्यानुअरीमा १,००० जना र मार्चमा १,३०० जनाको परीक्षा लिन जापान फाउन्डेशनले तालिका सार्वजनिक गरिसकेको छ ।

नेपाली कामदारलाई जापानमा रोजगारीको बाटो खुल्यो

परीक्षा लिँदा समस्या 

गत वर्ष नर्सिङ केअरगिभरको काममा जान झन्डै १३,००० जनाले आवेदन दिएका थिए ।

तर पहिला आवेदन दिनेमध्येबाट गोलाप्रथा गरेर केवल १,००० जना परीक्षाका लागि छानिएकाले सक्षम आवेदकले अवसर नपाएको नेपाली अधिकारीहरूको भनाइ छ ।

अब परीक्षार्थीको सङ्ख्या र परीक्षामा सहभागी गराउने विधिबारे नेपाल र जापानका अधिकारीहरूले छलफल गर्नेछन् । त्यसका लागि दुई पक्षबीच भिडिओवार्ता हुने बताइएको छ ।

उपसचिव ढकालले भने, “जापानले भिडिओवार्ताका लागि समय मागेको छ । त्यसमा पनि कुरा राख्छौँ र समझदारीअनुरूप दुवै देशका प्रतिनिधि रहेको प्राविधिक समितिको बैठक बोलाउन पत्राचार गरिसकेका छौँ ।”

परीक्षामा सबै आवेदकलाई सहभागी गराइनुपर्ने वा मूल परीक्षाअघि प्रारम्भिक परीक्षा लिएर त्यसबाट छानिएका आवेदकलाई सहभागी गराउनुपर्ने भनाइ नेपाली पक्षको छ ।

जापानसँग भएको समझदारीमा नर्सिङ केअरगिभरबाहेक अन्य १३ वटा क्षेत्रमा पनि नेपाली कामदार लैजाने उल्लेख छ । उक्त विषय प्राविधिक समितिको बैठकमा छलफल हुने र यो वर्ष अरू क्षेत्रका लागि पनि परीक्षा सुरु हुने अपेक्षा नेपाली पक्षको छ ।

सीप र तालिम

पहिलो परीक्षामा नेपाली आवेदकहरू भाषा र सीप परीक्षा दुवैमा निकै कमजोर देखिएको बताइन्छ ।

त्यसैले जापानमा रोजगारी गर्न जाने आकाङ्क्षीका लागि सीपविकास र भाषाप्रशिक्षणमा पनि लगानी गर्नुपर्ने देखिएको छ ।

जापानले निजी इन्स्टिट्यूटमा जापानी भाषा पढाउने शिक्षकलाई जापानमै लगेर प्रशिक्षण दिएको थियो ।

जापानले अर्को वर्ष ‘अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजाने’

नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारी

तिनै भाषा प्रशिक्षण केन्द्रमार्फत् पाठ्यक्रम अन्य आवश्यक सामग्री उपलब्ध गराउने जानकारी जापानले नेपाललाई गराएको छ ।

तर सीपविकासमा नेपाल आफैँले अहिलेसम्म ठोस कदम चालेको नदेखिने जानकारहरू बताँउछन् । विद्यमान प्रशिक्षण केन्द्रबाट उपयुक्त खालका सीप सिकाउन तालिम दिने विषयमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।