पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव, मौसममा बदली शुरू हुने

होमल्याण्ड खबर

२०७६ पुष २२ गते, मंगलवार १०:५७ मा प्रकाशित

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव शुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ ।

मंगलबार भने पश्चिमी भूभागहरूमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरि देशका पश्चिमी भूभागहरूमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ । पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उच्च पहाडी र हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।