पृथ्वीनारायणको योगदान स्मरण गरिँदै आज पृथ्वी जयन्ती मनाइँदै

होमल्याण्ड खबर

२०७६ पुष २७ गते, आईतवार ०९:०० मा प्रकाशित

आज २९८ औं पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आइतबार मनाइँदैछ ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुने छन् । समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।

लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन ।

पृथ्वीनारायणको जन्मजयन्तीका अवसरमा सरकारीस्तरबाट कुनै कार्यक्रम यस पटक नभए पनि विभिन्न राजनीतिक दल तथा राजावादी संघ–संस्थाले राष्ट्रिय एकता दिवसका रुपमा यस दिनलाई मनाउँदैछन् ।

जन्मजयन्तीका अवसरमा दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।