५ चैत्र २०८२, बिहीबार
प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । सोमबार संसद्मा सम्बोधन गर्दै बैठकको शुरूमै उपसभामुख डा. तुम्वाहाम्फेले राजीनामा सम्बोधन गरेकी हुन्।
सम्बोधनमा उनले राजीनामा गर्न आफूले लिएको अडान अस्वभाविक नरहेको पनि उनले स्पष्ट पारिन्। सम्बोधनमा उनले आफूले लिएको अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने पनि बताइन्। प्रतिनिधिसभाको अर्को बैठक सोमबार नै ४ बजे बस्ने भएको छ। सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने भएका छन्। त्यसअघि ठाकुरले २ बजे शीतलनिवासमा पुगेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा बैठक संचालनका लागि ज्येष्ठ सदस्यको सपथ लिनेछन्।


दिउँसो ४ बजे बस्ने बैठकमार्फत् नयाँ सभामुख चयन प्रक्रिया सुरु हुने भएको छ। सभामुख निर्वाचनको कार्यतालिका बैठकमार्फत् सार्वजनिक गरिनेछ । नेकपा सचिवालय बैठकले सभामुखका लागि अग्नि साप्कोटालाई अघि सार्ने निर्णय गरिसकेको छ। संसद्मा बहुमत नेकपाको भएकाले उनी सभामुखमा निर्वाचित हुने निश्चितजस्तै छ।