९ मंसिर २०८१, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) को उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओली सिंहदरबारको वार रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फरेन्स मार्फत संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गर्नुभएको हो । भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न भारतीय प्रधानमन्त्री मादीलाई नेपाल भ्रमणका लागि निम्तो दिनुभएको छ । ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि बताउनुभयो ।
आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।
नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ ।