हिउँमा पाँच मिटर खन्दा पनि भेटिएनन् हराएका पर्यटक

होमल्याण्ड खबर

२०७६ माघ ९ गते, बिहीबार १२:५६ मा प्रकाशित

अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ७ जना पर्यटकहरुको खोजी कार्य जारी छ । ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको हो ।

माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन् ।

स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ पहिरोमा सेनाले ५ मिटर तलसम्म खनेर उनीहरुको खोजी गरिरहेको छ ।

माघ ७ र ८ गते नेपाली सेनाको टोलीले हिउँमा खनेर उनीहरुको उद्धारका लागि पहल गरेको हो । यद्यपि यतिबेलासम्म कुनै उपलब्धि प्राप्त गर्न नसकिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

माघ ७ र ८ गते साँझ ५ बजेसम्म खोजी गरिएपनि हराइरहेका पदयात्री प्राप्त गर्न नसकिएको सेनाले जनाएको छ ।

माघ ९ गते पनि बिहानैदेखि हिउँ खन्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको साथमा नेपाली गाइडका आफन्त पनि अन्नपूर्ण आधार शिविर क्षेत्रमा खोजीमा सक्रिय रहेका छन् ।