चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या १ सय ६ पुग्यो

होमल्याण्ड खबर

२०७६ माघ १४ गते, मंगलवार १०:२२ मा प्रकाशित

कोरोनाभाइरसको महामारीबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ ।

चिनियाँ अधिकारीहरुले नयाँ कोरोनाभाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी संक्रमित भएको बताएका छन् । कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।

चिनियाँ सरकारले हुबेईका सहरहरुलाई नै ‘सील’ गरेर भाइरसको उपचार गर्ने प्रयास गरिरहेको छ । यसले गर्दा ५ करोड जनता बाहिरी विश्वको सम्पर्कबाट टाढा रहेका छन् ।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ ।

भाइरस सुरु भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

चीनका केही मुख्य शहरहरुले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ ।

अहिले सम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ । चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण कसैको मृत्यु भएको छैन् ।