दुवै सदनका बैठक आज दिउँसो १ बजे बस्दै

होमल्याण्ड खबर

२०७६ माघ १४ गते, मंगलवार १२:२७ मा प्रकाशित

आज संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनका बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिनिधि सभाको बैठक नवनिर्वाचित सभामुख  अग्निप्रसाद सापकोटाले सञ्चालन गर्नेछन् । सभामुखमा आइतबार सर्वसम्मतले निर्वाचित भएका उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए । उनले आजदेखि बैठक सञ्चालन गर्ने छन् ।

आजको बैठकमा दलीय आधारमा सांसदहरुले नवनिर्वाचित सभामुखलाई बधाई दिने कार्यसूचीमा उल्लेख छ । त्यसपछि प्रधानमन्त्री ओलीले न्यायपरिषद, लोकसेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत आठ निकायका वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यसैगरी, राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक, भ्रष्टाचार निवारण सम्बन्धी विधेयक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेश गर्ने कार्यक्रम रहेको छ ।