६ चैत्र २०८२, शुक्रबार
हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा आज बिहान गाँजा तस्करी गरिरहेको भारतीय नम्बरको कारको टायरमा गोली प्रहार गरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कार चालक भारत मुजफपुर बस्ने ३५ बषीय संजित पासवान, कारमा सवार रहेका भारत मुजफपुर बस्ने ३५ वर्षीय अजैमल हवारी र भारत मुजफपुर बस्ने ४५ बर्षीया जाहेरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


आज बिहान १ बजेतिर थानाभर्याङस्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको ट्राफिक सहितको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बीआर ०६ जी ४४५७ नम्बरको भारतीय नम्बरको कारलाई रोकी चेकजाँच गर्न खोज्दा सो कार नरोकी भैरवडाँडा तर्फ भाग्दा प्रहरीले चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गर्दा समेत नरोकेकोले पुनः १ राउण्ड गोली कारको टायरमा हानी उनीहरुलाई नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
कारबाट करिब ३२ केजी गाँजा बरामद भएको उनले बताए । यसैगरी, गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउनेक्रममा प्रहरीको मोवाईल गाडीलाई यात्रुवाहक रात्री बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
राप्तिपुल स्थित पुर्व पश्चिम सडक खण्डमा काकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको यात्रुवाहक रात्री बसले मोवाईल गाडीलाई ठक्कर दिँदा प्रहरी निरीक्षकसहित ५ जना प्रहरी र गाँजा तस्कर मध्य एक महिला घाइते भएका हुन् ।
घाइते हुनेहरुमा वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी, शसस्त्र प्रहरी गण रातोमाटे दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हल्वदार नर बहादुर राई, प्रहरी गाडीका चालक शसस्त्र प्रहरी सेनामुख सिन्धुली दरबन्दी भई हाल वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी हल्वदार सुक्रराज खत्री, रातोमाटे गण दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान समुन्द्र श्रेष्ठ, शसस्त्र प्रहरी गुल्म मु.का. हेटौंडा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान सुरेश कुमाल र गाँजा तस्करी भारत मुजफपुर बस्ने ४५ वर्षीया जाहेरा खातुन रहेका छन् ।
घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।