महिला भलिबलको विश्व वरियतामा नेपालको ठूलो फड्को

होमल्याण्ड खबर

२०७६ माघ २२ गते, बुधबार ११:३५ मा प्रकाशित

अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपाली महिला भलिबलले ठूलो फड्को मारेको छ ।

एफआईभीबीले निकालेको पछिल्लो वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टिमले ८७ औं स्थान हासिल गरेको छ ।

यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो ।

वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा उल्लेख छ ।

छिमेकी प्रतिद्वन्द्वी भारत ५४ औं स्थानमा छ । श्रीलंका ७१ औं स्थानमा छ । अफगानिस्तान १२१ औं स्थानमा छ ।

चीन विश्व वरियताको शीर्ष स्थानमा छ ।

अमेरिका दोस्रो स्थानमा, ब्राजिल तेस्रो स्थानमा छ । यसैगरी, इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

यस्तै, पुरुषतर्फ नेपाल १ सय ३८औं स्थानमा छ । पुरुषतर्फ ब्राजिल शीर्षस्थनमा छ । पोल्यान्ड, अमेरिका, रुस, अर्जेन्टिना, फ्रान्स, इटाली, इरान, जापान र क्यानडा शीर्ष दशमा छन् ।