नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन

होमल्याण्ड खबर

२०७६ माघ २२ गते, बुधबार १५:२८ मा प्रकाशित

नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

शर्मा मुटु र मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित थिए । नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक भएका थिए ।   विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता थिए ।

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनले  रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् । इलामको फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन्। शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।